गलकोट(बागलुङ) । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो ।
चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् । एक वर्षअघि रेशको कुँवरचोक मुहान भन्ने ठाउँमा सडक ढलानका लागि ठेकेदारले बिच्छ्याएको ढुङ्गा र रडका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै रड हटाएर पुनः सोलिङ गरिएको हो । घुम्ती र उकालो सडकमा सोलिङ तथा बिच्छ्याइएको रडमा एक वर्षसम्म ढलान नभएपछि स्थानीयको सक्रियतामा सडक मर्मत गरिएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
“विसं २०७७ मा ठेक्का सम्झौता भएको सडक अहिलेसम्म कालोपत्र भएन, उल्टै सडकमा बिच्छ्याइएको रडले दुर्घटनाको जोखिम बढ्यो, ढलान हुन्छ कि भनेर एक वर्ष कु¥यौँ, निर्माण कम्पनी सम्पर्कमै नआएपछि स्थानीयको श्रमदानमा सडकमा बिच्छ्याइएका रड हटाएर सोलिङ गरेका छौँ”, वडाध्यक्ष लामिछानेले भने, “दुई दिनको श्रमदानमा मात्रै एक सय मिटर सडक सोलिङ गरेर मर्मत गरेको र अन्य एक सय ५० मिटरभन्दा बढी सडक पहिले नै मर्मत गरिसकेको छ ।”
ठेक्का सम्झौता भएको उक्त सडक मर्मत गर्न वडामा बजेट नभएकोले श्रमदानमार्फत सडक मर्मत गरिएको हो । स्थानीय प्रेम कार्की र नेत्र शर्मासहित १२ जनाको दुई दिनको श्रमदानमा सडक मर्मत गरिएको हो । अहिले सडक ढलान र कालोपत्रका लागि थप गरिएको सम्झौता मिति सकिएको छ भने निर्माण व्यवसायी सम्पर्कमा नआएको स्थानीयको गुनासो छ । स्थानीयले सडक कालोपत्र नगरेर अलपत्र छाड्ने निर्माण व्यवसायीको ठेक्का रद्दका लागि गाउँपालिकासमक्ष पटक पटक माग गर्दै आएका छन् । स्थानीयले ठेक्का रद्दको मागसहित रेशका वडाध्यक्ष लामिछाने, वडा सदस्य तथा स्थानीयले गाउँपालिकामा ज्ञापनपत्रसमेत गत असारमा बुझाएका थिए । निर्माण व्यवसायीलाई कानुनी दायरामा गाउँपालिकाले ल्याउन नसकेको स्थानीयको आरोप छ ।
रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएका निर्माण व्यवसायीले सडक अलपत्र छाडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै श्रमदान गरेर मर्मत गरी चाडबाडको समयमा सहज तरिकाले यात्रा गर्न मिल्ने बनाएका हुन् । वडा कार्यालयले अन्य स्थानमा कच्ची नाली काट्ने, खाल्डा पुर्ने काम गरे पनि दुई सय ५० मिटर उकालो सडक स्थानीयको सक्रियतामा मर्मत गरिएको हो ।
विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनै पनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए । सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको रु छ करोड ७१ लाखमा ठेक्का सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । उक्त थप गरेको म्यादभित्र समेत निर्माण व्यवसायीले काम नथालेपछि रेशका स्थानीय निर्माण व्यवसायी प्रति आक्रोशित हुँदै आएका छन् । ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम सकेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस