आज: २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम


  • चौतारीपाटी
  • २०८० फागुन २२, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • १४७ पाठक संख्या
  • मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ ।

    हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए ।

    उनले भने, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।”

    दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।”

    समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।

    यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताए । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उनले अनुरोध गर्नुभएको छ ।

    पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

    अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट