आज: २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छ : गृहसचिव अर्याल


  • चौतारीपाटी
  • २०८० चैत्र ५, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ९८ पाठक संख्या
  • काठमाडौँ   ।   गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् ।
    आज नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक काम गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरुको समाधानका लागि सबै प्रहरी कर्मचारीहरुको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।
    नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउनुहुँदै गृहसचिव अर्यालले भन्नुभयो, “समग्र गृह प्रशासनलाई समसामायिक हिसाबमा रुपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौँ । जनताहरु पनि सन्तुष्ट भएको अवस्था छैन । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरुमा गृह प्रशासनमा नयाँ ढङ्गले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”
    उनले प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा तथा वृत्ति विकासमा साङ्गठानिक प्रणालीअन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरुको पिरमर्का, गुनासोहरुको सम्बोधनका लागि सम्बन्धित कार्यालय प्रमुखहरु क्रियाशील हुनुपर्नेमा जोड दिए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोहीअनुरुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गरे।
    यसैगरी उनले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए । नैतिकवान् र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।”
    गृहसचिव अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।
    निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै उनले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘भौतिक सबुद सङ्कलन र संरक्षणसम्बन्धी दिग्दर्शन’ पुस्तक विमोचन गरे ।
    कार्यक्रममा गृहसचिव अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०÷०८१, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९(प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरुको सङ्ग्रह भाग–१ र भौतिक सबुद सङ्कलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गरे ।
    सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरीवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी सङगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए ।
    प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको छ र नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गरे ।
    निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्याल समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको परिचय, सङ्गठनको संरचना, मानवस्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको साङगठनिक प्रस्तुतीकरण गरेका थिए ।
    त्यसअवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु एवं वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवं सात वटै प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु, विभिन्न प्रहरी गणहरु, तालिम केन्द्रहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु एवं सबै जिल्ला प्रहरी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको भर्चुअल उपस्थिति थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट