तेश्रो डिभिजन क्लबसँग पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट आउट

संवाददाता January 21, 2021
तेश्रो डिभिजन क्लबसँग पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट आउट

एजेन्सी । तेश्रो डिभिजन क्लब अल्कायानोसँग पराजित हुँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।

अल्कायानोको मैदानमा बुधबार राति सम्पन्न खेलमा अल्कायानोसँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित हुँदै रियल बाहिरिएको हो ।

दोस्रो रोजाईका खेलाडी मैदान उतारेको रियलले ४५ औं मिनेटमा अग्रता बनाएको थियो । इडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८० औं मिनेटमा एल्कोयानोका जोस सोल्वेसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलको १०९ औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । उसका रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।

तर, खेलको ११५ औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २-१ गोल अन्तरले जित दिलाए ।