बार्सिलोना कोपा डेल रे फूटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश

संवाददाता January 22, 2021
बार्सिलोना कोपा डेल रे फूटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । कोपा डेल रे फूटबल अन्तर्गत गए राती सम्पन्न राउन्ड ३२ को खेलमा कोर्नेल्लालाई पराजित गर्दै बार्सिलोना प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।

कोर्नेल्लाको घरेलु मैदान क्याम्प म्युनिसिपाल डि भएको खेलमा बार्सिलोना २-० गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाको जितमा ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटले समान एकएक गोल गरे । दुवै गोल थप गरिएको समयमा गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएको खेल थप समयका लागि अघि बढेको हो । थप गरेको दोश्रो मिनेटमा नै ओस्मान डेम्बेलेले पेड्रीको पास मार्फत गोल गरेका हुन् । यस्तै खेलको १२१ औं मिनेटमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गरे ।

बार्सिलोनाले दोश्रो रोजाइका खेलाडीलाइ मैदान उतारेका थिए । लियोनन मेस्सीविनाको खेलमा बार्सिलोना २-० गोल अन्तरले विजयी भयो । यस्तै बार्सिलोना प्राप्त दुई पेनाल्टीलाई सदुपयोग भने गर्न सकेनन् । पहिलो हाफको ३९ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी पिजानिकले हानेका थिए तर सो पेनाल्टी विपक्षीका किपरले विफल पारिदिए । त्यसैगरी ८० औं मिनेटमा पाएको पेनाल्टीलाई पनि ओस्मान डेम्बेलेले सदुपयोग गर्न सकेका थिएनन् । ११८ औं मिनेटमा कोर्नेल्लाका फर्नानडेजले दोश्रो पहेँलो कार्ड खाँदै मैदान फर्किएका थिए । १० खेलाडीमा सिमित कोर्नेल्लाले कुनै गोल फर्काउन सकेनन् ।