केहि व्यक्तिका इगोका कारण सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा समस्या

संवाददाता February 2, 2021
केहि व्यक्तिका इगोका कारण सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा समस्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरै भन्दा धेरै खेलमा नेपालले सहभागिता जनाउनु पर्नेमा जोड दिँदै यस क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए ।

कोरोनाका कारण खेलकुद क्षेत्र पछि परेको बताउँदै प्रधानमन्त्री ओलीले अब भ्याक्सिन आइसकेको अवस्थामा नेपाली खेलकूदले गति लिने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले कोरोनाका कारण बजेट घटेको स्वीकार गर्दै यसै वर्ष कोरोनालाई परास्त गर्ने अभियानमा सरकार रहेको बताउँदै बजेट बढ्ने आश्वासन पनि दिए ।

खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको बताए । पूर्वाधारको सवालमा खेलाडीहरुको प्रश्नको जवाफ दिँदै सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा केही व्यक्तिको इगोका कारण पनि समस्या भएको जिकिर गरे ।

चुनाव पछि आउँदो आर्थिक वर्षको बजेट पेश हुँदा पूर्वाधार निर्माणका लागि बजेट पेश गर्ने उहाले प्रतिवद्धता जनाए ।

उनले राखेपमा कार्यरत अस्थायी र करारका कर्मचारीहरुको पनि व्यवस्थापन गर्ने बताए । यसैगरी उनले युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई राखेपका कर्मचारीको बढुवा लगाएतका समस्या समाधानका लागि विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिए । कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले ७५३ स्थानीय तहमा चार वर्ष सम्म महिला र पुरुष फुटबल प्रतियोगिताका लागि बजेट माग गरेको छ । नेपाल भलिबल संघले राष्ट्रिय खेल भए पनि कभर्डहल बनाउनका लागि ध्यानाकर्षण गराएको छ भने मार्सल आर्टसले पनि पूर्वाधारबारे ध्यानाकर्षण गराएका छन् ।