आज: २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा


  • चौतारीपाटी
  • २०८० चैत्र १३, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ३४१ पाठक संख्या
  • गोदार (धनुषा)   ।   मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् ।
    पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका आज मनाउन लागिएको हो । यति मात्रै होइन जनकपुरधाममा केहीले बुधबार पनि होली मनाउने जनाइएको छ । जनकपुरधामबाहेक मधेस प्रदेशका अन्य जिल्ला तथा जनकपुरधाम अवस्थित धनुषा जिल्लाकै विभिन्न ठाउँमा सोमबार नै होली मनाइसकिएको छ ।
    होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्ग हालेर एकअर्कालाई रङ्गीन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । होलीका लोकगीत, सङ्गीतले आज बिहानदेखि जनकपुरधाम गुञ्जायमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुनको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ ।
    यहाँ फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अबिर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एकअर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ । दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एकअर्कालाई अबिर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।
    मधेसको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्ने र भ्रातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।
    अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले जनाउनुभएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट