बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण बाजुरा जिल्लाका विभिन्न ठाउँमा २५ घर भत्किएको जानकारी प्राप्त भएको छ । भूकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेको बेला माथिबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।
त्यसैगरी, भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन् । जंगलमा भेडा चराउन गएको बेला पहिरो जाँदा ५० देखि ६० भेडा मरेको र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयले बताएका छन् ।
खप्तड छेडेदह वडा नम्बर ५ मा दुईवटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको जानकारी प्राप्त भएको छ । त्यसैगरी, मष्टेश्वरी माध्यमिक विद्यालयको भवन भत्केको गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाईंको घर भत्किएको वडा अध्यक्ष दल रावतले बताएका छन् । थप विवरण आउन बाँकी रहेको गाउँपालिपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस