आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता


  • चौतारीपाटी
  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • १११ पाठक संख्या
  • मलेखु (धादिङ) ।  माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
    ‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भने–“रङ्ग दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकी त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुनसक्छ ।”

    त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टी भएपछि स्थानीय होटल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङ्गको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् । अनुगमनकारी निकायहरुलाई नै साक्षी राखेर व्यवसायीहरुले अज्ञानताका कारण माछा राम्रो देखाउन रङ्गको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरुले सचेत भएर रङ्गको प्रयोग हटाउने अभियान थालिएको उनको भनाइ थियोे ।
    मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटल तथा पसल छन् । सबै व्यवसायीहरुले रङ्ग हटाउने सामूहिक निर्णय नै गरेका छन् ।मूल्यमा पनि एकरुपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ्ग प्रयोग तथा अन्य काम गर्नेहरुलाई व्यवसायीहरु आफैले पनि कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेका छन् ।
    माछा व्यवसायीले सामूहिक प्रतिवद्धता गरेर सधैंका लागि रङ्गको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । व्यवसायीहरुले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरुले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए आगामी दिनमा कानूनअनुसार कडा कारबाही गरिने बताए ।

    ‘रङ्ग दलेर आकर्षक बनाउने चलन नआउँदै पनि मलेखुको माछा वर्षौदेखि देशभर प्रख्यात थियो । सबैले मिठो मानेर खान्थे । रङ्ग मिसाएर रातो बनाउन थालेपछि पनि स्वाद फेरिएको थिएन’, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण सिलवालले भन्नुभयोे–‘वर्षौदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएकोप्रति व्यवसायी दुखित बनेका छन्’, उनले भने ।
    माछाका थरीथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ताभन्दा जोखिममा व्यवसायी नै परिरहेको थाहा पाएपछि ती व्यसायीले रङ्ग नमिसाउने साहिक प्रतिवद्धता गरे पनि पेट्रोलपम्प क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिवद्धता गर्न सकेका छैनन् । फुर्केखोला क्षेत्रका व्यवसायीले झनै अटेर गरिरहेको उपभोक्ताहरुको गुनासो छ ।
    अखाद्य वस्तुको मिसावट चटक्कै छोडेर सफा र मिसावटरहित माछा बिक्री वितरण गर्न सके मलेखुको माछा बजार पहिलेजस्तै प्रख्यात बन्नेछ र व्यवसायले पनि पुरानै गति लिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट