आज: २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पर्वतको मिलनचोक–धाइरिङ सडक कालोपत्र सुरु


  • चौतारीपाटी
  • २०८० चैत्र १८, आईतबार मा प्रकाशित ७ महिना अघि
  • १२३ पाठक संख्या
  • पर्वत । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’ अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ ।

    सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको जनाएको छ । निर्माण कम्पनीका आयोजना व्यवस्थापक दीपेन्द्र श्रेष्ठले मिलनचोकबाट सल्यानसम्म तीन दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न लागिएको बताए । उनका अनुसार यो खण्डमा एक साताभित्रै कालोपत्रको काम पूरा हुनेछ ।

    धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिए । मिलनचोकबाट ठोड्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकरले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

    पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक सात मिटर फराकिलो र पानी निकासको नाली निर्माणले गत मङ्सिरदेखि तीव्रता पाएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी हर्षित भएका बताए ।

    निर्माण कम्पनीका प्रतिनिधिसमेत रहनुभएका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत चुनौती सामना गर्दै जिम्मेवारी पूरा गर्न लागेको बताए । यो सडक धाइरिङका एक हजारभन्दा बढी स्थानीयले नियमित रूपमा प्रयोग गर्दै आएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट