नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको छैन । फुटबल विकास र प्रोफेसनालिजम केवल कागजमै सीमित भएपछि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन अस्ट्रेलियालाई पहिलो रोजाइमा राखेका छन् । फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल विकासको दीर्घकालीन योजना लागू गर्न नसक्नु र घरेलु प्रतियोगितालाई समेत निरन्तरता प्रदान गर्न नसक्दा खेलाडी प्रत्येक महिनाजसो विदेश भासिरहेका छन् । फुटबल खेलाडी विदेश पलायनलाई राम्रो मानिएको छैन ।
अप्रत्यक्ष रूपमा यसले नेपाली राष्ट्रिय टोलीलाई मात्र नभएर घरेलु क्लबले समेत ठूलो नोक्सानी सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । अहिले लगभग राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी अस्ट्रेलिया पुगेका छन् । लगभग ३० जनाभन्दा धेरै खेलाडीले नेपाल छाडेर अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन् ।
यस साता नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी २४ घन्टाको अन्तरमा अस्ट्रेलिया पुगे । गत मंगलबार तीन नियमित सदस्य तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलियातर्फ लागे । त्यसको भोलिपल्ट (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकर रन्जन विष्ट र अट्याकिङ मिडफिल्डर नीतिन थापा पनि समुद्रपारिको देश अस्ट्रेलिया पुगे । तेज, दिनेश, गौतम, रन्जन र नीतिनले नेपालाई दक्षिण एसियाली खेकलुद (साग)मा स्वर्ण पदक दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस